भारत र पाकिस्तानबीचको द्वन्द्व फेरि चर्किएको छ। पछिल्लो सैन्य झडपमा पाकिस्तानले भारतका तीनवटा राफेल लडाकु विमान खसालेको दाबी गर्दै त्यसका लागि चीनबाट लिइएको जे–१० सी लडाकु विमान प्रयोग गरेको पुष्टि गरेको छ।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले संसदमा बोल्दै भने, हाम्रा लडाकु विमानले तीन वटा भारतीय लडाकु विमान झारिदिएका छन्। ती सबै राफेल थिए र खसाल्न हामीले चिनियाँ जे–१० सी विमान प्रयोग गरेका थियौँ। घटनापछि दक्षिण एसियाली सुरक्षा सन्तुलनमा चासो थपिएको छ भने चिनियाँ हस्तक्षेपप्रति भारतले गम्भीर आपत्ति जनाएको बताइएको छ।
सैन्य गतिविधिका कारण सीमामा तनाव बढ्दै गएको र हवाई सुरक्षा सतर्कता बढाइएको जानकारी स्रोतहरूबाट प्राप्त भएको छ।
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले राजीनामा दिइन्
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफूले जनताले तिरेको करबाट पारिश्रमिक लिन नहुने ठहर गर्दै पदबाट राजीनामा दिएकी छन्। उनी जनमत पार्टीबाट समानुपातिक सांसद थिइन्।
उनले सभामुखलाई पठाएको राजीनामा पत्रमा लेखेकी छन्, राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।
जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङको राजीनामा स्वीकृत गर्न सभामुखलाई आग्रह गरिएको र सभामुखले राजीनामा स्वीकार गरिसकेको जानकारी दिएका छन्।
गुरुङसँग सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ रहेकोले प्रतिक्रिया प्राप्त हुन सकेन।
Leave a Reply