विजयनगरमा ट्याक्टर दुर्घटना: स्टेरिङ फेल भएर पल्टिँदा दुई जना गम्भीर घाइते म्युज खबर | कपिलवस्तु, वैशाख १८

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौली गाउँस्थित बड्की माई मन्दिर अगाडि हुलाकी सडकमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

विजयनगर–२ का सन्तराम तेलीका २५ वर्षीय छोरा राजेश तेली, जो ट्याक्टरका चालक थिए, सरिया र सिमेन्ट खसालेर फर्कने क्रममा स्टेरिङ फेल हुँदा ट्याक्टर अनियन्त्रित भइ सडकको बिचमा बनाइएको गार्डेनको देवालमा ठोक्किएको हो। ठोक्किएपछि ट्याक्टर (नं. लु ३ त ४७९७) पल्टिएको थियो।

दुर्घटनामा चालक राजेश तेलीसँगै सँगै रहेका एक जना श्रमिक (लेबर), जसको नाम खुल्न सकेको छैन, गम्भीर घाइते भएका छन्। दुवै घाइतेलाई तुरुन्तै विजयनगरको एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल लगिएको स्थानीय स्रोतले जानकारी दिएको छ।

दुर्घटना भएको स्थान बड्की माई मन्दिर नजिकको हुलाकी सडक खण्डमा संरचना निर्माणका क्रममा बनाइएको गार्डेन र देवाल दुर्घटनाको कारण बन्न पुगेको देखिन्छ।