
— नेपाल विद्युत् प्राधिकरण अहिले आर्थिक संकटको चपेटामा परेको छ। कुलमान घिसिङले नाफा देखाउँदै सशक्त छविमा उभ्याएको यो संस्था हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा घाटामा देखिएको छ। प्राधिकरणले साढे ५ अर्ब रुपैयाँ बराबरको सञ्चित घाटा भएको उल्लेख गर्दै तयार पारेको श्वेतपत्र भोलि सार्वजनिक गरिँदैछ।
श्वेतपत्रमा प्राधिकरणको हालको आर्थिक स्थिति, सम्पत्ति, दायित्व, ऋण र कर्मचारी भुक्तानीसम्बन्धी विवरणहरू प्रस्तुत गरिएका छन्। श्वेतपत्रअनुसार, आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ थियो। त्यसैबीच चालू आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा देखिएको भए तापनि आयकर ऐन अनुसारको ह्रासकट्टी र अन्य दाबीहरू मिलाएर गणना गर्दा कुल ५ अर्ब २६ करोडको घाटा देखिएको हो।
हितेन्द्र शाक्यको नेतृत्वमा बनेको यो श्वेतपत्रले प्राधिकरणको वित्तीय, प्राविधिक र व्यवस्थापन पक्षको गहिरो मूल्यांकन गर्न लागिएको दाबी गरेको छ। प्राधिकरणको हालको सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको देखिन्छ, जसमा स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब र निर्माणाधीन आयोजना २ खर्ब २० अर्ब रहेका छन्।
नेपाल सरकारले प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोडको शेयर लगानी गरेको छ भने सञ्चित नाफा, जगेडा र अन्य स्रोतहरू जोड्दा २ खर्ब ५९ अर्ब १० करोड बराबरको इक्वीटी रहेको देखिन्छ। तर प्राधिकरणको कुल दायित्व भने ३ खर्ब ८५ अर्ब पुगेको उल्लेख छ, जसमा दीर्घकालीन ऋण मात्र २ खर्ब ४८ अर्ब १२ करोड छ।
श्वेतपत्रमा उल्लेख भएअनुसार, चालू आवको फागुन मसान्तसम्म प्राधिकरणले ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोड रुपैयाँको बिल भुक्तानी गर्न सकेको छैन। यतिखेर प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड मौज्दात रकम छ, तर चालू खातामा रहेको २ अर्ब ४७ करोड रुपैयाँ दैनिक सञ्चालन खर्चका लागि मात्र पर्याप्त छ। निर्माण कार्यका बाँकी भुक्तानी गर्न नसकिने अवस्थामा पुगेको प्राधिकरणले अहिले १० अर्ब रुपैयाँसम्मको अल्पकालीन ऋण लिने प्रक्रिया अघि बढाएको छ।
कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकालीन दायित्व ४७ अर्ब २४ करोड पुगेको छ भने धरौटी बापतको दायित्व २४ अर्ब ११ करोड रहेको छ। यस्तै, नेपाल सरकारलाई तिर्नुपर्ने ब्याज र टनकपुर विद्युत् बापतको रकमसमेत जोड्दा ३२ अर्ब ५० करोड बराबरको थप दायित्व बाँकी रहेको देखिन्छ।
यो सबभन्दा चासोको विषय तब बन्यो जब दुई कार्यकारी निर्देशकको अवधिमा यत्रो फरक देखियो। एकले नाफाको आधार बनाएका थिए, अर्काले घाटाको वास्तविकता देखाएका छन्। कुलमान घिसिङको प्रशंसा गर्नेहरूमाझ अब यो घाटाको विवरणले थप बहस र आलोचनाको वातावरण सिर्जना गर्नेछ।
Leave a Reply