इण्डियन प्रिमियर लिग (IPL) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई झट्का दिदैँ अंक तालिकाको शिखरमा धमाकेदार प्रवेश गरेको छ। जयपुरको सवाई मानसिंह स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा मुम्बईले राजस्थानमाथि १०० रनको विशाल जित निकालेको हो।
पहिले ब्याटिङ गर्दै मुम्बईले मात्र २ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गर्यो। ओपनिङबाटै आक्रामक सुरुवात गरेका र्यान रिकेल्टनले ३८ बलमा ७ चौका र ३ छक्का सहित ६१ रन ठोके। साथमा कप्तान रोहित शर्माले ५३ रनको महत्वपूर्ण पारी खेले।
तर खेलको मजा अझै बाँकी थियो—फिनिशिङमा आएर सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले मैदानमा आतिशबाजी गरे। दुवैले २३–२३ बलमा ४८–४८ रन नटआउट रहँदै पारीलाई विस्फोटक रुपमा टुंग्याए। यादवको ब्याटबाट ४ चौका र ३ छक्का निस्किए, भने पाण्ड्याले ६ चौका र १ छक्का ठोके।
विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको राजस्थानको पारी भने मुम्बईका बलरहरूसामु घुट्टा टेक्यो। १६.१ ओभरमै ११७ रनमा टिम अलआउट! जोफ्रा आर्चरको ३० रन बाहेक अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। कप्तान रियान परागले १६, शुभम दुबेले १५, यशश्वी जैसवालले १३, र ध्रुव जुरेलले ११ रन बनाए।
मुम्बईका बलरहरू चमत्कारी देखिए — ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३–३ विकेट, जसप्रित बुमराहले २ विकेट, र दीपक चाहर तथा हार्दिक पाण्ड्याले १–१ विकेट हात पारे।
यो जितसँगै मुम्बईको १४ अंक पुग्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ, भने राजस्थान ६ अंकसहित आठौं स्थानमा सीमित छ।
Leave a Reply