काठमाडौं, मे ११ — चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।
अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। रेमिट्यान्सको यो वृद्धिले मुलुकको विदेशी मुद्रा सञ्चिति सुधारमा योगदान पुर्याउनुका साथै आयात व्यवस्थापनमा पनि राहत मिलाएको बैंकले जनाएको छ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) प्राप्त गर्ने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ थिए, जुन यस वर्ष उल्लेख्य रूपमा बढेका छन्।
विश्लेषकहरूका अनुसार रोजगारीको अवसर खोज्दै विदेशी मुलुक गएका नेपालीको योगदानसँगै रेमिट्यान्स प्रवाहमा आएको वृद्धिले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।
Leave a Reply