डिजिटल कुलतको सानो ‘झिल्को’ – समाज र परिवारमा ठूलो आगलागी

काठमाडौं, वैशाख २५ । मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोगले निम्त्याएको सामाजिक र पारिवारिक समस्यालाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘झिल्को’ अहिले देशभर चर्चाको केन्द्रमा छ।

निर्देशक यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झिल्को’ले डिजिटल कुलतको गहिरो समस्यालाई कलात्मक ढंगले उजागर गरेको छ। मोबाइललाई मनोरञ्जनको साधनभन्दा पनि आवश्यकता मान्न थालेको आजको पुस्ताले कसरी अनलाइन गेम, युट्युब, र सामाजिक सञ्जालमा फसेर वास्तविक जीवनलाई बिर्सँदै गएको छ भन्ने विषय चलचित्रको केन्द्रमा छ।

चलचित्रमा पत्रकारको भूमिकामा देखिने पात्रको सुखी परिवारमा मोबाइलको लत कसरी सल्किन्छ र त्यसले सम्बन्धमा कस्तो खलल ल्याउँछ भन्ने कथा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलजस्ता कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ।

अभिनेता विशाल पोखरेलले चलचित्रको प्रभाव आफूमा पनि परेको भन्दै सामाजिक सञ्जालबाट दूरी बनाएको र आफ्ना बालबालिकालाई डिजिटल लतबाट जोगाउने प्रयास थालेको बताए। उनले घरमा राति ११ बजेपछि वाइफाइ बन्द गर्ने निर्णयसमेत लिएको उल्लेख गरे।

निर्देशक यादव भट्टराईले यसअघि ‘झोला’ र ‘भोर’जस्ता सामाजिक यथार्थमा आधारित चलचित्र निर्देशन गरिसकेका छन्। ‘झिल्को’ पनि त्यही श्रेणीमा पर्छ — जसले डिजिटल प्रविधिको दुरुपयोगले निम्त्याउन सक्ने पारिवारिक विखण्डन, मानसिक दबाब र सामाजिक दूरीजस्ता संवेदनशील विषयवस्तुमा ध्यानाकर्षण गराउँछ।

‘झिल्को’लाई अहिले अभिभावक र शिक्षकहरूले आफ्ना बालबालिकासँगै हेर्नुपर्ने चलचित्रको रूपमा लिइरहेका छन्। चलचित्र हेरेपछि थुप्रै अभिभावकले सामाजिक सञ्जाल र मोबाइल प्रयोगबारे आफ्नो दृष्टिकोण परिवर्तन गरेको बताएका छन्।

चलचित्र ‘झिल्को’ले उठाएको सवाल सानो देखिए पनि, त्यसले निम्त्याउने असर निकै ठूलो हुन्छ। त्यसैले चलचित्रको मूल सन्देश हो — ‘अब सचेत हुने समय आएको छ।’