काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न भेटवार्तामा राजदूत श्रीवास्तवले भारतको पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणपछिको भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उक्त भेटमा राजदूत श्रीवास्तवले घटनाप्रति नेपाल सरकारले बिहीबार जारी गरेको वक्तव्यका लागि आभार व्यक्त गरेका थिए।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षमा रहने उल्लेख गर्दै आतङ्कवादको सबै प्रकारको विरोधमा नेपालको स्पष्ट धारणा रहेको बताए।
उनले नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि विघटनकारी गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।
Leave a Reply