बालाजु पौडी पोखरी खुला गर्नुअघि पानीको गुणस्तर सुनिश्चित गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक बालाजु बाइसधारा उद्यानस्थित पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र पुनः सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरकी उपप्रमुख सुनिता डङ्गोलले शुक्रबार पोखरीको स्थलगत अनुगमन गर्दै पोखरी सञ्चालनको पूर्वाधार, पानी शुद्धीकरण तथा इनडोर सुविधाको आवश्यकताको बारेमा स्पष्ट निर्देशन दिएकी हुन्।

उनले बालाजु क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई जोड दिंदै उद्यानलाई “उत्कृष्ट गन्तव्य” बनाउने कार्यलाई एकैसाथ अघि बढाइने बताइन्। सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना अन्तिम चरणमा पुगेको छ भने निर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने ५० मिटर लामो र १८ मिटर चौडा पोखरी बनाइएको छ।

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले पोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म रहेको जानकारी दिए। साथै, पोखरीसँगै पानी प्रशोधन र शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक स्थल समेत निर्माण गरिएको छ।

नेपाल पौडी सङ्घसँग सम्झौता

पोखरी सञ्चालनका लागि काठमाडौँ महानगरको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना र नेपाल पौडी सङ्घबीच औपचारिक सम्झौता भइसकेको छ। सम्झौता अनुसार सङ्घले ३ जना जीवनरक्षक (एक महिला अनिवार्य), एकजना वरिष्ठ जीवनरक्षक र एकजना पानी प्रशोधन प्राविधिक उपलब्ध गराउनेछ। ती कर्मचारीहरू सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि पोखरीमा उपस्थित भइसकेको हुनुपर्छ र समय सकिएपछि दैनिक विवरण बुझाएर मात्र फर्किनुपर्नेछ।

ऐतिहासिक पृष्ठभूमि

बालाजु बाइसधारा क्षेत्र नेपालको ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको समुच्चय हो। मन्नादी देवी, शीतलामाई, बाल नीलकण्ठ, रत्नचुडेश्वर महादेव, बुद्ध, गणेशजस्ता धार्मिक स्थलहरूसँगै यहाँको २१ धाराहरू तत्कालीन राजा जयप्रकाश मल्लको पालामा बनाइएका थिए। पछि रणबहादुर शाहले थप एक धारा बनाएपछि यसको नाम बाइसधारा रहन गएको हो।

उद्यान १५८ रोपनीमा फैलिएको छ भने वि.सं. २०७२ को भूकम्पपछि पोखरी चर्किएर पानी चुहिने भएको थियो। हाल पुनःनिर्माणपछि पोखरीलाई सुरक्षित, आधुनिक र व्यवस्थित रूपमा खुला गर्न प्रयास तीव्र रूपमा भइरहेको छ।