काठमाडौँ, महाराजगन्जस्थित नारायणगोपाल चोकमा गएराति भएको एक सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति मोटरसाइकल चोरी गरेर भागिरहेका बेला टिप्परसँग ठोक्किएका हुन्।
गएराति करिब १२:४५ बजे नयाँ बसपार्कबाट नारायणगोपालतर्फ गइरहेको बा.४ ख १२०३ नम्बरको टिप्परले बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालक धादिङको गजुरी घर भएका २० वर्षीय दर्मातान तामाङ गम्भीर घाइते भएका छन्।
प्रहरी अनुसन्धान अनुसार तामाङले उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरी गरेका थिए। चोरी गरेको मोटरसाइकल लिएर भाग्दादेखि नै प्रहरीको निगरानीमा रहेका उनी दुर्घटनामा परेपछि पक्राउ परेका हुन्। अहिले उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार टिप्पर चालक भने घटनापछि फरार छन् र उनको खोजी कार्य जारी छ।
यस घटनाले सहरभित्र बढ्दो मोटरसाइकल चोरी तथा सवारी सुरक्षासम्बन्धी चुनौतीलाई पुनः उजागर गरेको छ। प्रहरीले चोरी तथा ट्राफिक उल्लंघनमा संलग्न व्यक्तिहरूविरुद्ध निगरानी कडा बनाउने जनाएको छ।
Leave a Reply