चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

काठमाडौँ । नेपाली फिल्म उद्योगमा नयाँ उत्साह र आशा लिएर चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड रुपैयाँको अनुमानित लगानीमा निर्माण हुने यस चलचित्रले प्रेम, सङ्घर्ष र साहसको गहिरो कथालाई पर्दामा उतार्ने लक्ष्य लिएको निर्माण टिमले जनाएको छ।

चलचित्रको निर्देशन अनुभवी फिल्म निर्देशक रिम विश्वकर्मा ले गर्नेछन्। उनले यस प्रोजेक्टलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै भने, “यो मेरो लागि डेब्यु निर्देशनभन्दा कम छैन। केही कुरा छन् जुन अहिले नभने पनि समय आएपछि खुलाउनेछु।”

रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रमा पीबी थापा ले एकल रूपमा लगानी गर्नेछन्। थापाले चलचित्रको कथा र विषयवस्तुले आफूलाई गहिरो रूपमा छोएको जनाउँदै भने, “नेपाली दर्शकले यसमा नयाँ स्वादको प्रेमकथा पाउनेछन्।”

‘राजकुमारी’को मुख्य भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी छ। चर्चित अभिनेत्रीहरूसँग कुरा भए पनि मुख्य पात्रको नाम टुङ्गो लागेको छैन। तर, अन्य कलाकार र प्राविधिक टोली भने अन्तिम चरणमा पुगिसकेको बताइएको छ।

छायाङ्कन आगामी भदौ महिनाबाट सुरु हुने जानकारी दिइएको छ। काठमाडौँमा अधिकांश सुटिंग गरिने भए पनि केहि दृश्य मुस्ताङ, पोखरा लगायतका रमणीय ठाउँहरूमा पनि खिचिने छन्। प्रदर्शन मिति भने अझै टुङ्गो लागेको छैन।

चलचित्रको टाइटलबाट कथावस्तु राजपरिवारसँग सम्बन्धित हुन सक्ने अनुमान गरिए पनि निर्माण पक्षले कथावस्तु सस्पेन्समै राख्ने रणनीति बनाएको छ।

निर्देशक विश्वकर्माको अर्को चलचित्र ‘हेल्लो काशीराम’ आगामी जेठ २ गते देशव्यापी प्रदर्शन हुँदैछ। लगातार निर्देशनमा सक्रिय हुँदै आएका विश्वकर्माले ‘राजकुमारी’ मार्फत आफूलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरेका छन्।

नेपाली फिल्म उद्योगमा नयाँ सोच र मौलिक कथाको खोजी भइरहेका बेला ‘राजकुमारी’ ले दर्शकमाझ नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।