मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा

तेलेगू फिल्म ‘राजयुद्ध’ को हिन्दी डब ‘लिडर’ युट्युबमा उपलब्ध छ । यो फिल्म भारतकै उत्कृष्ट राजनीतिक सिनेमामध्ये एक मानिन्छ । फिल्ममा देखाइएको कथा, पारिवारिक राजनीति, भावनात्मक द्वन्द्व र सत्ता प्राप्तिको लडाइँलाई मन छुने ढंगले प्रस्तुत गरिएको छ ।

फिल्मको कथा आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्युबाट सुरु हुन्छ । बम विस्फोटमा ज्यान गुमाएका सन्जीवको अन्तिम इच्छा भनेको आफ्ना छोरा अर्जुनलाई मुख्यमन्त्री बनाउनु थियो । अर्जुन त्यो समय अमेरिकाबाट फर्किएका हुन्छन् । उनी राजनीतिमा आउलान् भन्ने कसैले कल्पना पनि गरेका हुँदैनन् ।

फिल्मको रोचकता त्यतिबेलादेखि बढ्न थाल्छ जब अर्जुनका मामाका छोरा धनञ्जय पनि मुख्यमन्त्रीको दौडमा अघि सर्छन् । पार्टीदेखि परिवारका धेरै सदस्य धनञ्जयको पक्षमा उभिन्छन् । यस्तो अवस्थामा अर्जुनले निर्णय गर्छन्, बुबाको अधुरो सपना पुरा गर्न राजनीति प्रवेश गर्ने ।

अर्जुन राजनीतिमा नयाँ भए पनि उनको सोच र दृष्टिकोण स्पष्ट हुन्छ । उनी इमानदारी र मूल्यमा आधारित राजनीति गर्न चाहन्छन् । तर परिवारभित्रकै प्रतिद्वन्द्विताले उनको यात्रा सजिलो हुँदैन । मामाका छोरा धनञ्जय मात्र होइन, अन्य आफन्तले पनि उनको बाटो रोक्न खोज्छन् ।

फिल्ममा अर्जुनकी आमाले छोरोलाई बुबाको संघर्ष, राजनीति, चुनौती र असफलताबारे बताउँछिन् । त्यो कुराकानीपछि अर्जुन अझ प्रतिबद्ध भएर अगाडि बढ्छन् । उनी राजनीतिमा आइसकेपछि मात्रै होइन, त्यसअघि नै यस्तो चाल चल्छन् जसले उनलाई जनताको बीचमा लोकप्रिय बनाउँछ ।

‘राजयुद्ध’ फिल्म सन् २०१० मा रिलिज भएको हो । अर्जुनको भूमिकामा बाहुबली फिल्मका खलपात्र भल्लालदेव बनेका राना दगुबत्ती छन् । यो फिल्म उनको डेब्यु हो र उनको अभिनय निकै प्रभावशाली देखिन्छ ।

फिल्मको निर्देशन शेखर कम्मुलाले गरेका हुन् । उनले लेखन र निर्देशन दुवैमा गहिराइ प्रस्तुत गरेका छन् । ‘फिल्म कम्प्यानियन’ ले ‘राजयुद्ध’ लाई दशकका २५ उत्कृष्ट तेलेगू फिल्मको सूचीमा राखेको छ ।

यो फिल्म हेर्न चाहने दर्शकहरूले युट्युबमा ‘Leader (2010) Hindi Dubbed’ सर्च गरेर हेर्न सक्नेछन् । राजनीतिक कथा मन पराउने दर्शकका लागि यो फिल्म एकदमै सान्दर्भिक र प्रभावशाली लाग्न सक्छ ।