पढ्नलाई उमेरले छेक्दैन: ६८ वर्षीय लालबहादुरको परीक्षा संघर्ष

गोरखा — गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विकले उमेरको सिमाना नमान्दै कक्षा १२ को परीक्षा दिइरहेका छन्। अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा निलो सुट, ढाका टोपी र घाँटीमा भवानी माविको टाइ बाँधेर प्रवेश गर्दा धेरैले उनलाई शिक्षक सम्झिए। तर उनी भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत परीक्षार्थी हुन्।

कक्षा ११ मा उत्कृष्ट १० भित्र परेका विक कक्षा १२ पनि सजिलै पास गर्नेमा विश्वस्त छन्। “अङ्ग्रेजीमा एक–दुई प्रश्न छुट्यो होला, तर फेल त नहोला”, उनले भने, “बाँकी विषय त आफ्नै शैलीमा सजिलै लेख्न सक्छु।”

२०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट अवकाश पाएका विकले २०३५ सालमा प्रहरी सेवा थालेका थिए। त्यसबखत कक्षा ७ मा अध्ययनरत उनले जागिरसँगै पढाइलाई निरन्तरता दिँदै २०४२ सालमा प्राइभेट एसएलसी दिएका थिए।

“त्यतिबेला दलितको छोरो पढेर ठूलो हुन्छ भन्ने डरले सिनियरहरू पेल्थे। काममा जोतेर पढ्न दिँदैनथे”, उनले भने, “तर पनि तेस्रो श्रेणीमा भए पनि एसएलसी दिएँ।”

घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ त्यत्तिकै रोकियो। चार छोराछोरी र एक छोरीको जिम्मेवारीका बीच जीवन कटाउँदै उनले पेन्सनपछि पनि पढ्न पाएनन्। तर जब परिवारका सबै सदस्यहरू ठूला भए, उनको मनमा पुरानो पढ्ने चाहना फेरि पलायो।

“अब पढ्न सहज छ। त्यसैले ६७ वर्षको उमेरमा कक्षा ११ भर्ना भएको हुँ”, विकले भने। कक्षा १२ पछि स्नातक तहमा कानुन विषय लिएर पढ्ने उनको योजना छ।

“म कानुन पढेर जागिर खान चाहन्न। तर ढिलो भए पनि यति पढेँ भन्ने गर्व गर्न चाहन्छु”, उनी भन्छन्। उनका छोराहरू वैदेशिक रोजगारीमा छन् र सबैले बुवाको पढ्ने इच्छा देखेर खुसी हुँदै साथ दिइरहेका छन्।

विद्यालयका शिक्षकहरू भन्छन्— लालबहादुर विकको यो उदाहरणले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइलाई सार्थक बनाएको छ।

यस वर्ष गोरखा जिल्लाबाट कक्षा १२ मा तीन हजार ७५० विद्यार्थी सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार दुई हजार चारसय ७६ जना नियमिततर्फ र एक हजार २५० जना ग्रेड वृद्धितर्फ परीक्षा दिइरहेका छन्।