उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ । चीनसँग सिमाना जोडिएको नेपालको उत्तरी क्षेत्र उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण कार्य तीव्र रूपमा अगाडि बढेको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुईदिने शिविर सञ्चालन गर्दै स्थानीय बासिन्दालाई परिचयपत्र वितरण गर्न थालेको हो।

शुक्रबारदेखि सुरु भएको शिविरमार्फत चराङ केन्द्रमा ३२५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार उक्त कार्यलाई सहज बनाउन चार जना कर्मचारी परिचालन गरिएको छ। समग्रमा लोघेकर दामोदरकुण्ड र लोमान्थाङमा ६६८ जनालाई परिचयपत्र वितरण गर्ने योजना रहेको छ।

यसअघि नामाङ्कन प्रक्रिया सम्पन्न गर्न नागरिकलाई जोमसोमसम्म पुग्नुपर्ने बाध्यता थियो, जसबाट एक व्यक्तिको कम्तीमा ६ हजार रुपैयाँसम्म खर्च हुने गरेको अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए। गाउँमै परिचयपत्र वितरण भएपछि नागरिकहरू उत्साहित भएका छन्।

वडाध्यक्ष टे ढिन्डुक ठकुरीका अनुसार, शिविरले नागरिकलाई दिनभरको समय खर्चेर सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ। उनले स्थानीय स्तरमै सेवा उपलब्ध गराउनु नागरिकप्रति उत्तरदायी प्रशासनको उत्कृष्ट उदाहरण भएको बताए।

सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्न, अन्य प्रशासनिक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि स्थानीय तहमा दर्ता र वितरण कार्य तीव्र भएको छ। यो अभियान गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा सञ्चालन भइरहेको हो।