काठमाडौँ । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा अझै पनि सामन्ती सोच हाबी रहेको र कार्यकर्तालाई केवल ‘झोले’ बनाउन खोज्ने प्रवृत्ति नरोकिएको बताएका छन्।
शनिबार सिंहदरबारमा आयोजित “नेपालको वर्तमान अवस्था : चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलहरूले नागरिकलाई सशक्त बनाउने प्रजातान्त्रिक संस्कार दिनुपर्ने बताए।
उनले भने, “राजनीतिक दलहरूले आफ्नो कार्यकर्तालाई नेपालकै नागरिक, नेता र कार्यकर्ताको हैसियतमा प्रस्तुत हुन सिकाउनु आवश्यक छ। क्षेत्रीय र साम्प्रदायिक आधारमा नहिँडेर समतावादी सोच विकास गर्नुपर्छ।”
रानाभाटले मुलुकको सामाजिक तथा आर्थिक विकासको मार्गमा राजनीतिक दलहरूले यथार्थवादी सोच अपनाउनुपर्नेमा जोड दिए। साथै, उनले दलहरू अझै पनि परनिर्भर मानसिकताबाट ग्रस्त रहेको गुनासो गरे।
“दुःखका साथ भन्नुपर्छ, राजनीतिक दलहरू मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र ऋणप्रति झुकेका छन्,” उनले भने, “हामीले अब स्वार्थभन्दा माथि उठ्नुपर्छ र राष्ट्रको हितका लागि काम गर्नुपर्छ।”
उनले न्यायपालिका बाहेकका सम्पूर्ण सरकारी निकायलाई कडा सुझाव दिनुपर्ने बेला आएको बताए। साथै, देशको समस्या समाधान गर्नका लागि पूर्व सांसद मञ्चको साधारण सभा मात्र पर्याप्त नहुने धारणा राखे।
रानाभाटले बहुदलीय व्यवस्था हुँदैमा जनतामा आशा जाग्ने ग्यारेन्टी नभएको पनि प्रष्ट पारे। देशभित्रै रोजगारी र कामको संरचना अझै मजबुत हुन नसकेको भन्दै उनी चिन्तित देखिए।
Leave a Reply