टीआरसी छनोट प्रक्रिया खारेजको मागसहित द्वन्द्व पीडितद्वारा प्रदर्शन

काठमाडौँ । द्वन्द्व पीडित समुदायले ट्रुथ एन्ड रीकन्सिलिएसन कमिसन (टीआरसी) को हालको छनोट प्रक्रिया खारेज गरी नयाँ, पारदर्शी र पीडितमैत्री सिफारिस प्रक्रिया थाल्न माग गर्दै शनिबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी पीडितहरूले हालको छनोट प्रक्रियालाई अपारदर्शी, देखावटी र भागबन्डा आधारित भएको आरोप लगाउँदै आम द्वन्द्व पीडित समुदायलाई पूर्ण रूपमा बेवास्ता गरिएको गुनासो गरेका छन्।

प्रदर्शनकारीहरूले “सिफारिस समिति खबरदार”, “जबरजस्ती गरे बहिष्कार”, “नयाँ सिफारिस प्रक्रिया थालियोस्”, “भागबन्डाको समिति मान्दैनौं” जस्ता नारा अंकित प्लेकार्डसमेत प्रदर्शनमा देखाएका थिए।

उनीहरूले सरकार र राजनीतिक दलहरूको प्रभावमा बनेका आयोगलाई मान्यता नदिने बताउँदै, यदि आफ्ना मागहरू सम्बोधन नभएमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनीसमेत दिएका छन्।