पाकिस्तानी बमबारीमा भारतीय उच्च अधिकारीको मृत्यु भएको दाबी

जम्मु-कश्मिर । जम्मु–कश्मिरको रजौरीमा शनिबार बिहान भएको पाकिस्तानी सेनाको बमबारीमा परी भारतका एक उच्च सरकारी अधिकारीको मृत्यु भएको दाबी गरिएको छ।

भारतीय सञ्चारमाध्यम ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार पाकिस्तानी सेनाले रजौरीस्थित एक घरलाई लक्षित गरेर आक्रमण गर्दा त्यहाँका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिडिसी) राजकुमार थापाको ज्यान गएको हो।

जम्मु–कश्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले पनि एक्समार्फत जानकारी दिँदै थापाको निधन पुष्टि गरेका छन्। उनको भनाइ अनुसार शनिबार बिहानै पाकिस्तानतर्फबाट गरिएको गोलाबारीको निशानामा थापाको आवास परेको थियो।

घटनास्थलमा ठूलो क्षति भएको जनाइएको छ भने थप विवरणहरू संकलन भइरहेका छन्। पाकिस्तानले रजौरीसहित पुञ्छ, जम्मुलगायतका सीमावर्ती क्षेत्रमा आक्रमण गरेको थियो।