बाँके — बाँकेको राप्ती नदीपारिको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि क्रमशः सुगम बन्दै गएको छ।
नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानका अनुसार अहिले नरैनापुरबाट नेपालगञ्ज पुग्न करिब आधा घण्टा लाग्ने भएको छ। पहिले भारतको बाटो भएर हिँड्नुपर्ने बाध्यता हटेको बताउँदै उनले हुलाकी सडकलाई नरैनापुरवासीको ‘लाइफलाइन’ भनेका छन्।
हाल नेपालगञ्जदेखि नरैनापुरको सुईया बघौडा सीमासम्म दैनिक चार सार्वजनिक बस सेवा सञ्चालनमा छन्। सडक बनेसँगै स्वास्थ्य सेवा, शिक्षा, र स्थानीय आवतजावतमा सहजता आएको स्थानीयवासी बताउँछन्।
स्थानीयवासी यादवका अनुसार पहिले बिरामीलाई अस्पताल पुर्याउन निकै कठिन हुने गर्थ्यो भने अहिले एम्बुलेन्स गाउँमै आउने भएकाले सहज भएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपालगञ्ज जाने विद्यार्थीलाई पनि यो सडकले सहज बनाएको छ।
अघिल्लो अवस्थामा भारतीय बजारमा निर्भर रहनु परेको नरैनापुर अहिले नेपालगञ्जसँग सिधा जोडिएको छ। अब भित्री गाउँमा सडक विस्तार आवश्यक रहेको जनाइएको छ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडकले नरैनापुरवासीको जीवनशैलीमा आमूल परिवर्तन ल्याएको बताए। सबै वडाका गाउँसम्म सडक पुर्याउने योजनालाई प्राथमिकता दिएको उल्लेख गरेका छन्।
यो सडक निर्माण करिब २३ वर्षपछि सम्पन्न भएको हो। नेपालगञ्ज–बघौडा खण्डको ४४ किलोमिटर लम्बाइको सडक पटक–पटकको अवरोध र ढिलाइबीच निर्माण सम्पन्न भएपछि स्थानीयलाई यातायातमा सहजता मिलेको छ।
बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र पहल गरेको बताए। उनले यो सडकले स्थानीयलाई विकासको प्रत्यक्ष अनुभूति गराएको उल्लेख गरेका छन्।
Leave a Reply