२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान दुई तिहाइ सरकार आफ्नै कुकर्मको बोझले ढल्ने बताएका छन्। उनले आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको समेत स्पष्ट पारे।
पार्टीको पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले जनहितका काम गर्न नसकेको आरोप लगाए। “यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ। हामी सरकार ढाल्ने हतारोमा छैनौं, अहिले जनतासँगै छौं,” उनले भने।
प्रचण्डले आगामी निर्वाचनमा पार्टी आफ्नै बलबुतामा सहभागी हुने बताए। “अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइने छैन, ०६४ सालको जस्तै चुनाव लड्नेछौं,” उनको भनाइ थियो।
उनले पार्टीविरुद्ध विभिन्न भ्रम फैलाउने प्रयास भइरहेको भन्दै कार्यकर्तालाई सजग रहन आग्रह गरे। “कतिपय बेला विभिन्न भ्रम छर्न खोजिन्छ, त्यो भ्रममा नपर्नुहोला,” उनले भने।
सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै उनले भने, “दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत हामीले देखिरहेका छौं। राम्रो काम एउटा पनि गर्न सकेको छैन, नराम्रो काम मात्रै भइरहेको छ।”
Leave a Reply