कर्णाली नदीमा दुई किशोर बेपत्ता, खोजीमा गोताखोर परिचालन

कालीकोट/दैलेख, वैशाख २७ — कर्णाली नदीमा छुट्टाछुट्टै घटनामा दुई किशोर बेपत्ता भएका छन्। सशस्त्र प्रहरीले घटनास्थलमा गोताखोर टोली खटाएर खोजी कार्य थालेको छ।

शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा नुहाउन गएका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका हुन्। उनी नरहरी गाउँपालिका–१, कोटवारीका बासिन्दा हुन्।

उही दिन दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ मा पनि कर्णाली नदीमै नुहाउन गएका १६ वर्षीय भुवन सार्की बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुवै घटनाको खोजीका लागि शुक्रबार साँझसम्म प्रयास गरिए पनि सफल नभएपछि शनिबार बिहानदेखि पुनः खोजी कार्य तीव्र पारिएको हो।

बिराज विष्टको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली परिचालन गरिएको छ।

भुवन सार्कीको खोजी जलविद्युत आयोजना सुरक्षा बेस डावबाट खटिएको टोलीले गरिरहेको छ।

साउन–भदौ याम नजिकिँदै गर्दा कर्णाली नदीमा जलस्तर तीव्र गतिमा बढ्ने भएकाले स्थानीय प्रशासनले बालबालिकालाई नदी तथा खोल्सामा नजान आग्रह गरेको छ। स्थानीय बासिन्दाहरूले घटनाप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा सहयोग गरिरहेका छन्।