काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जाति र धर्तीको साझा भविष्यलाई सुरक्षित राख्न विश्व समुदायलाई एकत्रित गर्ने उद्देश्यसहित “सगरमाथा संवाद” आयोजना गर्ने तयारी रहेको बताएका छन्।
आज सार्वजनिक भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त संवादबारे जानकारी दिएका हुन्। उनले भने, “पृथ्वीको भविष्य सुनिश्चित होस्, मानव जातिको भविष्य सुरक्षित होस् — यही उद्देश्यका साथ हामी सगरमाथा संवाद गर्दैछौं।”
प्रधानमन्त्रीले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक असन्तुलनका कारण उत्पन्न भयावह परिस्थितिप्रति चिन्ता व्यक्त गरे। उनले भने, “अब हाम्रा क्रियाकलापले पृथ्वीलाई थप बिगार्न नपाओस्। बरु, बिग्रिएको वातावरण सुधारौं र भावी पुस्तालाई सुरक्षित वातावरण सुम्पौं।”
उनका अनुसार सगरमाथा संवादले पहाड, नदी, समुद्र र जलवायुबीचको अन्तरसम्बन्धको गहिरो अध्ययन र छलफल गर्नेछ। प्रधानमन्त्रीले जलवायु परिवर्तनजस्ता समस्याको समाधानका लागि विश्व समुदायको एकताबद्ध प्रयास अपरिहार्य भएकोमा जोड दिए।
उनले भने, “कार्बन उत्सर्जनको नियन्त्रणदेखि वातावरणीय क्षतिका अन्य तत्त्वहरूलाई न्युनिकरण गर्दै, सबैले मिलेर समस्या पहिचान र समाधानतर्फ अगाडि बढ्नुपर्छ।”
सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादमार्फत नेपालले विश्वलाई वातावरणीय चेतना फैलाउने साझा मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे।
Leave a Reply