भोजपुर, टक्सार — भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रवाह गर्नका लागि ‘ई-लर्निङ कक्ष’ सञ्चालनमा ल्याइएको छ।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संरक्षकत्वमा रहेको ईश्वर मन्दिर, काठमाडौँ नामक संस्थाले विद्यालयलाई १० थान कम्प्युटर, स्मार्ट टिभी र अन्य आवश्यक उपकरणहरू प्रदान गरेको हो। यो सहयोगले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधि-आधारित शिक्षामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
संस्थाले हालसम्म भोजपुरकै डेढ दर्जनभन्दा बढी सामुदायिक विद्यालयहरूमा ई-लर्निङ कक्ष स्थापनामा कम्प्युटर र स्मार्ट डिभाइसहरू सहयोग गरेको जनाएको छ।
पूर्वअर्थमन्त्री कोइरालाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै जाँदा विद्यार्थी र शिक्षक दुवैले लाभ लिन सक्ने बताए।
संस्थाका अध्यक्ष प्रमेश केसीले प्रविधिबाट गुणस्तरीय शिक्षा सम्भव हुने भन्दै ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई पनि डिजिटल सीपमा दक्ष बनाउन संस्थाको अभियान जारी रहेको बताए।
महासचिव सङ्केत कोइरालाले भने, “कपी र पेन्सिलको मात्र प्रयोगले डिजिटल युगमा टिक्न सकिँदैन, त्यसैले विद्यालयमै ई-लर्निङ कक्ष अनिवार्य बन्दै गएको हो।”
विद्यालय प्रशासनले ई-लर्निङ कक्षको दीर्घकालीन र प्रभावकारी उपयोग सुनिश्चित गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय कम्प्युटर शिक्षा दिने प्रतिबद्धता जनाएको छ।
Leave a Reply