फोनपेले काठमाडौंमा २१औं एपीएन फोरम आयोजना गर्यो

काठमाडाैं, मे ११ — डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे नेपालले एशियन पेमेंट नेटवर्क (APN) को २१औं फोरम मे ६–७ मा काठमाडौंको हिल्टन होटलमा आयोजना गरेको छ। दुई दिनसम्म चलेको यो महत्वपूर्ण कार्यक्रमले एशियाली मुलुकहरूबीच डिजिटल वित्तीय सहकार्य, सीमापार रिटेल भुक्तानी प्रणालीको सम्भावना र भविष्यका रणनीतिमाथि केन्द्रित छलफलहरूको अवसर प्रदान गर्‍यो।

फोरममा एशियाका १४ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डिजिटल भुक्तानीमा नवप्रवर्तन, अनुभव आदानप्रदान, र नीति सहकार्यका विविध पक्षमा गम्भीर छलफल र प्रस्तुतीकरणहरू गरे।

फोरमको सुरुवातमा APN प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री कार्यालयमै भेट गरेका थिए। यसले कार्यक्रममा सरकारको उच्च प्राथमिकता र नेपालले डिजिटल भुक्तानी क्षेत्रमा लिएको क्षेत्रीय नेतृत्वको स्पष्ट संकेत दिएको आयोजक कम्पनीले जनाएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारका अनुसार, “नेपालमा एपीएन फोरम आयोजना गर्नु हाम्रो नेतृत्व क्षमताको मान्यता हो। यसले सिकाइहरूको साझा आदानप्रदान गर्दै समावेशी र सुरक्षित वित्तीय प्रणालीतर्फ अगाडि बढ्ने मार्ग खोल्दछ।”