रजनीकान्तको ‘जेलर २’ मा नन्दमूरी बालकृष्णको धमाकेदार प्रवेश

चेन्नई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको चर्चित फिल्म ‘जेलर’ को दोस्रो भाग ‘जेलर २’ अहिलेको हिट समाचार बन्न थालेको छ। यो सीक्वेलमा तेलुगु सिनेमाका सुपरस्टार नन्दमूरी बालकृष्णको पनि धमाकेदार प्रवेश भएको छ।

भारतीय मिडिया ‘दैनिक जागरण’ का अनुसार बालकृष्णलाई फिल्म ‘जेलर २’ को लागि २० दिनको छायांकनमा सहभागिता जनाउने सर्तमा निर्माताले ५० करोड भारु पारिश्रमिक दिएका छन्। उनले फिल्ममा एक शक्तिशाली प्रहरी अधिकृतको भूमिका निभाउनेछन्।

फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन् भने यसमा रजनीकान्तसँगै राम्या कृष्णन (विजया), मिरना मेनन, योगी बाबू लगायतका चर्चित कलाकारको अभिनय पनि समावेश हुनेछ।

‘सन पिक्चर्स’ को ब्यानरमा निर्माणाधीन यो फिल्मलाई सन् २०२५ को अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।