राजसंस्था फर्काउन राजावादी एकजुट : उपत्यकाबाट जेठ १५ देखि जनआन्दोलन सुरु

काठमाडौं, म्युझ खबर | वैशाख २८

राजसंस्था पुनःस्थापनाको मागलाई लिएर देशभर फैलिएको चासोबीच संयुक्त जनआन्दोलन समितिको बैठक आइतबार राजधानीमा सम्पन्न भएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छलफलमा देशभरका राजावादी शक्तिहरू एकीकृत आन्दोलनको तयारीमा देखिएका छन्।

बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, पूर्व अध्यक्षहरू पशुपति शमशेर जबराडा. प्रकाशचन्द्र लोहनी लगायतका नेता सहभागी थिए।

जेठ १५ देखि राजधानीमा जनआन्दोलन

बैठकले जेठ १५ गतेदेखि काठमाडौं उपत्यकामा प्रमुख जनआन्दोलन सुरु गर्ने निर्णय गरेको छ। सबै राजावादी पार्टी, संस्था तथा अभियानका संरचनाहरूलाई सक्रिय रूपमा आन्दोलनमा सहभागी गराउने रणनीति तय गरिएको छ।

साँखुबाट सुरु, चाँगुनारायणमा प्रचार समापन

जेठ ८ गते साँखुबाट प्रारम्भ भई जेठ ११ गते भक्तपुरको चाँगुनारायणमा समापन हुने प्रचारात्मक अभियानअन्तर्गत सयौं कोणसभा, घरदैलो कार्यक्रम, र जनजागरण अभियान सञ्चालन हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

४४ संगठनको संयुक्त प्रतिबद्धता

यसअघि आइतबार बिहान सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संयुक्त जनआन्दोलन समितिको आयोजनामा ४४ वटा दल, संस्था, समूह र अभियानहरूको संयुक्त बैठकसमेत सम्पन्न भएको थियो। बैठकमा सबै पक्षले राजसंस्थाको पुनःस्थापनाका लागि एकजुट भएर आन्दोलन अघि बढाउने निर्णय गरेका छन्।

‘अब सडकमै निर्णायक लडाइँ’

राजावादीहरूका अनुसार संसदीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताको नाममा देश टाट पल्टिएको भन्दै अब पुनः राजसंस्थाको स्थापना आवश्यक भएको आवाज उठाउन थालिएको हो। उनीहरूले यो आन्दोलन ‘निर्णायक संघर्ष’ हुने दाबी गरेका छन्।