वैशाख २९ — सरकारले सबै सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले हुम्लाको गाउँगाउँमा शिविर सञ्चालन सुरु गरेको छ।
शिविरको सुरुआत यही वैशाख २८ गते आइतबारदेखि जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार, “गाउँगाउँमा पुगेर आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीका घरदैलोमै सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।”
शिविर अन्तर्गत जिल्लाका सातै गाउँपालिकामा सेवा विस्तार गरिनेछ। यस्ता शिविरमा राष्ट्रिय परिचयपत्र बनाउन चाहने नागरिकले सक्कल कागजातहरू तयार पारेर उपस्थित हुन अनुरोध गरिएको छ।
यद्यपि कुन गाउँपालिकामा कति दिन शिविर सञ्चालन गर्ने भन्ने कार्यतालिका भने अझै सार्वजनिक गरिएको छैन। गाउँपालिकाहरूको आवश्यकतालाई हेरेर शिविरको समय निर्धारण गरिने जनाइएको छ।
स्थानीय तहमा पहुँच पु-याउने उद्देश्यले सञ्चालित यो अभियानले पहाडी दुर्गम क्षेत्रका नागरिकलाई डिजिटल पहिचानको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
Leave a Reply