नवलपरासी (नवलपुर), वैशाख ३० – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएपछि सवारी आवगमन पूर्ण रूपमा रोकिएको छ। पुल भाँचिएसँगै नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार हाल सवारीहरूलाई वैकल्पिक मार्गमार्फत सञ्चालन गरिँदैछ।
पश्चिमतर्फ जाँदै गरेका सवारीहरू चोरमारा बजार हुँदै दक्षिणतर्फ तम्सरिया गाउँ भएर खोला तरेर रानीटार–फूलबारी–भिउरान मार्ग हुँदै अरुणखोलास्थित राजमार्गमा फर्किरहेका छन्। खोलामा पानी नहुँदा साना सवारीसाधनको लागि उक्त मार्ग प्रयोग गर्न सहज भएको नेपालले बताए।
पूर्वतर्फ जाँदै गरेका सवारीहरू भने फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार हुँदै तम्सरिया गाउँमार्ग भएर पुनः चोरमारा नजिकै राजमार्गमा फर्किन सक्ने व्यवस्था गरिएको छ। तर, ठूला लरीहरूका लागि मोड पर्याप्त नहुँदा उनीहरूको सञ्चालन तत्काल रोकिएको छ।
डीएसपी नेपालका अनुसार भाँचिएको पुल तत्काल मर्मत सम्भव छैन र त्यसमार्गबाट पूर्ण रूपमा सवारी आवतजावतमा रोक लगाइएको छ। पुल गए राति क्लिङकर बोकेको एक ट्रक पार गर्ने क्रममा भाँचिएको थियो।
Leave a Reply