काठमाडौँ — काभ्रेको पनौतीमा सोमबार अपराह्न आएको बाढीले एक महिला बगाएपछि अवस्था अझै अज्ञात छ। पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी कुलो पार गर्ने क्रममा बेपत्ता भएकी हुन्।
काभ्रेका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, खोजी कार्य निरन्तर चलिरहेको छ। खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमसहित स्थानीयवासीहरू समेत सक्रिय छन्। साथै, नदीको बहावले उनलाई सिन्धुलीतर्फ लग्न सक्ने आशंकामा त्यहाँ पनि समन्वय भइरहेको छ।
त्यही बाढीले काभ्रेको रोशी गाउँपालिका–माम्ती क्षेत्रमा रहेको बीपी राजमार्गको भाग समेत बगाएको छ। सडक दुबैतर्फबाट अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प छ।
सडक सञ्चालनमा ल्याउन सडक विभागले चारवटा एक्स्काभेटर परिचालन गरेको छ। यसअघि असोज २०८१ मा आएको बाढीले पक्की सडक बगाएपछि ह्युमपाइप राखी वैकल्पिक मार्ग बनाइएको थियो। तर, सोमबारको बाढीले त्यो ह्युमपाइप समेत बगाएको छ, जसले स्थिति झनै जटिल बनाएको छ।
Leave a Reply