रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

मुगु । पर्यटकीय सम्भावना प्रचुर भए पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकासमा पूर्वाधार निर्माण र लगानीको खाँचो भएकोमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन्।

काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान)को संयुक्त पहलमा रारा क्षेत्रको भ्रमण गरिएको हो। भ्रमणका क्रममा मुगुको सल्लेरीमा आयोजित अन्तक्र्रियामा पर्यटन सेवा प्रवाहको गुणस्तर वृद्धि, आवश्यक तालिम तथा स्तरीय होटल पूर्वाधारमा ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकोप्रति आभार व्यक्त गर्दै यसले जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखे। होटल व्यवसायी देवीकृष्ण रोकायाले सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि तथा पूर्वाधार निर्माणमा थप सहयोगको आवश्यकता औँल्याए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले रारालाई उत्कृष्ट गन्तव्यका रूपमा व्याख्या गर्दै हवाई तथा सडक सञ्जालले पहुँच सहज बनेको बताए। रारा इको–टुरिज्म र चलचित्र छायाङ्कनको लागि पनि उपयुक्त रहेको भन्दै ऐरले विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न आवश्यक पहल गर्नुपर्ने बताए।

टीवान अध्यक्ष भीष्म न्यौपानेले पर्यटक बस सञ्चालनमा केही चुनौती भए पनि सङ्घ तयार रहेको बताए। उनले सडक छेउका होटलहरू व्यवस्थित गर्न र हस्पिटालिटी सेवामा सुधार ल्याउनुपर्ने बताए।

२२ सदस्यीय टोलीमा बोर्ड, पर्यटन व्यवसायी, स्थानीय समुदाय, होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन बोर्डले काठमाडौँ–रारा बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक समन्वयमा प्रतिबद्धता जनाएको छ। साथै, होटल स्तरोन्नति, जनशक्ति तालिम, सेवा सुधार र अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारलाई प्राथमिकताका साथ अघि बढाउने बताइएको छ।