रौतहट, कटहरिया — रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिनाभित्रै एक युवतीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
कटहरिया–३ बडेरवा टोल घर भई हाल कटहरिया–५ बजार क्षेत्रमा बसोबास गर्दै आएकी सानीया प्रविन (२१) को आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा शव भेटिएको हो।
घटनापछि ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट संयुक्त टोली पुगेर घटनास्थलको मुचुल्का तयार गरेको र शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरी स्रोतले जनाएको छ।
मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघि अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार सम्पन्न भएको थियो। विवाहपछिदेखि नै सानियामाथि दाइजोका लागि शारीरिक र मानसिक यातना दिइएको उनको आरोप छ।
“छोरीले बारम्बार यातना सहनु परिरहेको बताउने गर्थी। अन्त्यमा योजनाबद्ध रूपमा हत्या गरेर आत्महत्या देखाउने प्रयत्न गरिएको छ,” खातुनको भनाइ छ।
माइती पक्षले कटहरिया ईलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानपछि मात्र थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
Leave a Reply