लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

३० वैशाख, बुटवल — लुम्बिनी प्रदेश सभा सदस्य तथा जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छन्। गुरुङले जनताले तिरेको करबाट पारिश्रमिक लिन आफूलाई उपयुक्त नलागेको भन्दै राजीनामा दिएकी हुन्।

उनले सभामुखलाई पठाएको राजीनामा पत्रमा लेखेकी छन्, “राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।”

उनको राजीनामा स्वीकृत गरिन सभामुखलाई पत्र पठाइएको जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले जानकारी दिएका छन्। उनले सभामुखलाई गुरुङको राजीनामा स्वीकार गर्न पनि आग्रह गरेको बताए।

प्रदेश सभा सदस्य गुरुङसँग सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ देखिएको थियो। यसबारे थप जानकारी दिन पार्टीले अहिलेसम्म औपचारिक विज्ञप्ति भने जारी गरेको छैन।

गुरुङको यस्तो कदमले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। करको नैतिकताको विषय उठाउँदै सांसदले पद त्याग गर्नु नेपालमा दुर्लभ विषय हो।