गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी संकटमा: निजी क्षेत्र सडकमा, सरकार चुपचाप म्युज खबर | रुपन्देही, भैरहवा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले झण्डै ४० अर्ब रुपैयाँ लगानी गरिसकेको छ, तर सोही आधारमा निजी क्षेत्रबाट गरिएको खर्बौंको लगानी आज संकटमा पर्न थालेको छ। नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा होटल, हाउजिङ, रेष्टुरेन्टदेखि व्यवसायिक जग्गा तथा साना–ठूला परियोजनामा गरिएको निजी लगानी डुब्ने अवस्थामा पुगेको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य भन्छन्, “सरकारले विमानस्थल बेवास्ता गर्दा राज्य र निजी क्षेत्र दुवैको लगानी धराशायी हुने स्थितिमा पुगेको छ।” उनका अनुसार नियमित उडान भए कम्तीमा एक किसिमको आशाको किरण बाँकी रहने थियो, तर अब त बैंकले लिलामी प्रक्रिया नै सुरु गरिसकेको छ।

निजी क्षेत्र: सपना देखायो सरकार, अब बर्बादी बाँकी

विमानस्थल निर्माणसँगै भैरहवा, तिलोत्तमा, लुम्बिनी र बुटवल क्षेत्रका व्यवसायीहरूले पर्यटक आगमनको अपेक्षामा ठूलो लगानी गरेका थिए। टर्मिनल भवन तयार भएपछि विमान स्वतः चल्नेछ भन्ने बुझाइमा निजी क्षेत्र होमिएको थियो। तर, अवस्था उल्टो भएको सिद्धार्थ होटल संघ नेपाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ ले बताए। “तीन वर्षदेखि श्रम, म्यानपावर, मेडिकल र भिसा सेन्टर खोल्न माग्दै आएका छौं, तर सुनुवाइ शून्य छ,” उनले दुःखेसो गरे।

राजनीतिमा भाषण, धरातलमा बर्बादी

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की भन्छन्, “विमानस्थल नेताहरूका भाषणका विषय मात्र बनेका छन्। समाधान होइन, आश्वासन मात्र पाइयो।” उनका अनुसार निजी क्षेत्र सडकमा आइपुगेको बेला पनि सरकार बेपरवाह देखिएको छ।

सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले भने, “केही समय विमान उड्दा निजी क्षेत्र खुसी थियो, तर त्यो पनि काठमाडौं विमानस्थल मर्मतकै कारण रहेछ। मर्मत सकिएपछि सबै उडान फेरि काठमाडौं फर्किए। अब बुझ्न गाह्रो छैन, सरकारले हामीमाथि खेलवाड गर्‍यो।”

उनले राज्यको जिम्मेवारीमाथि प्रश्न उठाउँदै भने, “सरकारले स्पष्ट नीति, नियमित उडान र निजी लगानीको सुरक्षामा गम्भीर बन्न ढिलो भयो भने अब यहाँको व्यवसायिक पुनःउत्थान असम्भवजस्तै हुन्छ।”