राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा अभिनय सुरु भएको टिप्पणी गरेका छन्। मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिवेशमा “दुई छवाको नाटक” सुरु भएको संकेत गरे।

उनले भने, “राति मुसा समाउने, बिहान पूजापाठ गर्ने, रुद्राक्ष माला लगाएर ठाडो टिका लगाउने — यस्तो शैली राजनीतिमा देखिन थालेको छ। अब त राजनीतिमा पनि ‘परफर्मेन्स’ आउन थालेछ।”

ओलीले नाम भगवानको लिने तर काम भने राक्षसको शैलीमा गर्ने प्रवृत्तिले राजनीति विकृत भइरहेको बताए। उनका अनुसार राजनीतिमा आवश्यक पर्ने साहस, जिम्मेवारी र निष्कपटता हराउँदै गयो भने अभिनय र भावना मात्रै देखाएर देश बदल्न सकिन्न।

“राजनीति न अभिनय हो न सेन्टिमेन्ट। देश बदल्न यथार्थमा टेक्नुपर्छ,” उनले स्पष्ट पारे।

उनले अझ अघि भने, “बाघको पञ्जा चाहिएको बेलामात्रै देखाउने, अरू बेला नङ्ग्रै छैनजस्तो गरिने — यस्तो प्रवृत्ति खतरनाक हो।” ओलीको भनाइमा राजनीतिमा विश्वसनीयता र यथार्थमुखी कार्यशैली अपरिहार्य हो, न कि छविको निर्माणको नाटक।