मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा आज बिहान आगलागी भएको छ।

दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको पुरानो कच्ची घरको तेस्रो तलाबाट ग्यास लिक भई सुरु भएको आगोले छेउमै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि क्षति पुर्‍याएको छ।

आगलागी भएको घरमा रहेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

घटनास्थलमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको नेतृत्वमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी परिचालित भएका छन्।

जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी र बालाजु औद्योगिक क्षेत्रबाट आएका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको जनाइएको छ।