काठमाडौं । समुदाय र विद्यार्थीको स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याएका सात जना विद्यालय तथा सामुदायिक नर्सलाई सम्मान गरिएको छ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवस–२०८२ को अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा चन्द्रागिरि नगरपालिका–१५ की सामुदायिक स्वास्थ्य नर्स पार्वती पङ्गेनी पौडेल, बर्दिवास नगरपालिका–१४ की अनिसा थापा, वालिङ नगरपालिका–१ की सृष्टि मल्ल, तिलोत्तमा नगरपालिका स्थित गौतमबुद्ध उच्च माविमा कार्यरत मुना ज्ञवाली, गोरखा नगरपालिका स्थित गोरखा माविमा कार्यरत ममता लामिछाने, रोशी गाउँपालिकास्थित रोशी माविमा कार्यरत विमला हायु तथा काठमाडौं महानगरपालिका अन्तर्गतको रत्नराज्य उच्च माध्यमिक विद्यालयमा कार्यरत सविता रेग्मी छन्।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टङ्क बाराकोटी र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीराकुमारी निरौलाले दोसल्ला ओढाएर सम्मान गरेका थिए। प्रमुख निरौलाले विद्यालय तथा सामुदायिक नर्सहरूले स्थानीय समुदाय र विद्यार्थीहरूको स्वास्थ्यस्तर उकास्न महत्वपूर्ण योगदान दिएको बताइन्।
चन्द्रागिरि नगरपालिकाको जनस्वास्थ्य शाखामा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत विष्णुमाया रिजालले नगरपालिकामा १५ जना विद्यालय तथा सामुदायिक नर्स कार्यरत रहेको जानकारी दिइन्। उनले विद्यालयस्तरमै स्वास्थ्य सचेतना र सेवा पु-याउने कार्यमा उनीहरूले गरेको योगदानलाई सराहनीय बताइन्।
Leave a Reply