काठमाडौँ। उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। उनी २०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गर्दै आएका थिए र आफ्नो सामान्य जीवनशैलीका कारण विश्वको ‘गरीब राष्ट्रपति’को उपनाम पाएका थिए।
मुहिका क्यान्सरबाट पीडित थिए, यद्यपि उनको निधनको आधिकारिक कारण भने खुलाइएको छैन। उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधनको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म अत्यन्त दुःखका साथ हाम्रो साथी मुहिकाको निधन भएको जानकारी गराउँछु। उहाँ हाम्रो राष्ट्रपति, अभियन्ता, नेता र मार्गदर्शक हुनुहुन्थ्यो।”
उनको कार्यकालमा, मुहिकाले भ्रष्टाचारविहीन शासनको नेतृत्व गर्दै आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिएका थिए। सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा उनले वैदेशिक लगानीमा वृद्धि गराउँदै गरिबी न्यूनीकरणमा सफलता प्राप्त गरेका थिए।
Leave a Reply