इन्डियन आइडल विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार

इन्डियन आइडल १२ का विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार आएको छ। नोएडाको फोर्टिस हस्पिटलमा उपचाररत पवनदीपको स्वास्थ्यमा राम्रो प्रगति भएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ।

पवनदीपले आफ्नो इन्स्टाग्राममा हस्पिटलमा गीत गाइरहेको भिडिओ पनि सेयर गरेका छन्। उक्त भिडिओ सेयर गरेपछि उनका फ्यानहरूले स्वास्थ्य लाभको शुभकामना दिइरहेका छन्।

पवनदीपलाई एक हप्ताभित्र डिस्चार्ज हुने आशा गरिएको छ। यसअघि ५ मेमा उनलाई कार दुर्घटना भएको थियो। उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा उक्त दुर्घटना भएको थियो, जसमा पवनदीपसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर घाइते भएका थिए।

दुर्घटना रातको २:३० बजे भएको थियो, जब ड्राइभरलाई निद्रा लागेपछि कार दुर्घटनाग्रस्त भएको बताइएको छ।