नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल जले

काठमाडौंको सतुंगलमा बिहीबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा आएको छ।

चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक टहरामा बिहान ५:२५ बजे विद्युत सर्ट भएर आगो लागेको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार फलामे टसबाट बनेको सो टहरामा रहेका करिब १५ देखि २० वटा सटरमध्ये १० वटा सटर र तिनमा सञ्चालित व्यवसायहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

अन्य ४ वटा सटर र त्यसमा रहेका पसलहरूमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिको थप विवरण संकलन कार्य जारी रहेको बताइएको छ।

आगो निभाउन सशस्त्र प्रहरीका १७५ जना सुरक्षाकर्मी, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका थिए। विभिन्न कार्यालयबाट ६ वटा दमकल परिचालन गरिएको थियो।