काभ्रे । सोमबारको बाढीले बगाएकी ३३ वर्षीया रेणुका गिरीको खोजीमा काभ्रे प्रहरीले कुकुरको सहायता लिएको छ। चौथो दिनसम्म पनि भेटिएपछि बिहीबार बिहानदेखि खोजी कार्यमा तालिमप्राप्त पाँच वटा कुकुर परिचालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलका अनुसार सर्च एन्ड रेक्यु तालिम लिएका तीनवटा र ट्र्याकिङ तालिम लिएका दुईवटा गरी पाँचवटा कुकुर परिचालन गरिएको छ।
उनले भने, ‘तीन दिनसम्म विभिन्न युनिटहरूले खोजी गरे पनि सफलता नपाएपछि आज बिहान ८:३० बजेबाट कुकुर परिचालन गरेका हौं।’

खोजी कार्यमा रोशी, भकुन्डेबेशी, मंगलटार, पनौती, खोपासी लगायतका प्रहरी युनिटहरू सक्रिय छन्। तर हालसम्म कुनै ठोस प्रगति नभएको डिएसपी घलले जानकारी दिए।
बाढीको घटनाबारे प्रहरीले दिएको जानकारीअनुसार, वैशाख २९ गते सोमबार साँझ ६ बजे तिर पनौती नगरपालिका–५ को सुब्बा गाउँ नजिकको ठाडो खोलाले रेणुकालाई बगाएको थियो।
त्यो दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म काभ्रेमा लगातार अविरल वर्षा भएको थियो। घटनाको समयमा रेणुका खेतबारीमा काम गर्दै थिइन् र फर्कने क्रममा खोलाले बगाएको बताइएको छ।

रेणुका बेपत्ता भएको एक डेढ घन्टा नबित्दै खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको टोली दिनरात खटिए पनि हालसम्म कुनै सुराग फेला परेको छैन।
Leave a Reply