काठमाडौँ । वैशाख महिनामा नेपाली फिल्म क्षेत्रको व्यापार केही मन्द देखिएको छ । ‘भूठान’, ‘खेल’, ‘झिल्को’, ‘जार’ र ‘उनको स्वीटर’ गरी पाँच फिल्म रिलिज भए पनि ‘उनको स्वीटर’ बाहेक कुनैले खासै व्यापारिक सफलता पाउन सकेनन् ।
अब भने जेठ महिनामा ६ वटा नेपाली फिल्म रिलिज हुने तयारीमा छन् । यिनले दर्शक तान्न सक्छन् कि सक्दैनन् भन्ने चासो फिल्मकर्मीदेखि दर्शकसम्ममा देखिएको छ । रिलिज हुने फिल्ममा ‘के घर के डेराः घर नम्बर २’, ‘हेल्लो काशिराम’, ‘नरसिंहा अवतार’, ‘महाभोज’, ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ रहेका छन् ।
फिल्महरू सामाजिक, धार्मिक, हास्यप्रधान र व्यङ्ग्यसहित फरक विधाका छन् । यी सबै फिल्म फरक–फरक शुक्रबार रिलिज हुने तयारीमा छन्, जसले गर्दा प्रतिस्पर्धा पनि निश्चित छ ।
जेठ २ गते ‘के घर के डेराः घर नम्बर २’ र ‘हेल्लो काशिराम’ एकैदिन रिलिज हुँदै छन् । पहिलो फिल्म दीपेन्द्र के. खनालको निर्देशनमा बनेको हो भने दोस्रो फिल्म रीम विश्वकर्माको निर्देशनमा तयार भएको हो । दुबै फिल्म सामाजिक र हास्यमुख्य विषयमा केन्द्रित छन् ।
जेठ ९ गते अभिनेता राजेश हमाल अभिनित बहुप्रतिक्षित फिल्म ‘नरसिंहा अवतार’ रिलिज हुँदैछ । एक्सन र धार्मिक भाव मिसिएको यस फिल्ममा हमालसँगै नीर शाह, सरोज खनाल, नीति शाह लगायतको अभिनय रहेको छ । अभिनेता हमाल ८ वर्षपछि पर्दामा फर्किन लागेका हुन् ।
त्यस्तै, जेठ १५ गते ‘महाभोज’, २३ गते ‘जन्ते बाख्रो’ र ३० गते ‘भाइरल गोर्खे’ रिलिज हुँदै छन् । यी सबै फिल्मलाई हालसम्म सिंगल रिलिज मिति उपलब्ध छ ।
‘महाभोज’ राजनीतिक कथा र भ्रष्टाचारमाथि केन्द्रित फिल्म हो, जसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायत कलाकार छन् । ‘जन्ते बाख्रो’ गरिबी र जीवनसंघर्षको हास्य र करुण कथा हो भने ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल बन्ने होडबाजीले मान्छेको जीवनमा पार्ने प्रभावको कथा हो ।
वितरक रोहित कट्टेलका अनुसार जेठमा रिलिज हुने फिल्महरूप्रति व्यवसायिक अपेक्षा उच्च छ । उनका अनुसार, सबै फिल्मका निर्देशक र कलाकार अनुभवी छन्, र विषयवस्तु पनि दर्शकलाई फरक स्वाद दिन सक्ने किसिमका छन् ।
Leave a Reply