इजरायली आक्रमणमा फेरि गाजामा ११४ को मृत्यु, नाकाबन्दीले मानवीय संकट गहिरिँदै

गाजापट्टी, मे १६ — इजरायलले बिहीबार रातिदेखि गरेको हवाई आक्रमणमा गाजामा कम्तीमा ११४ जना मारिएका छन्। मृतकको पुष्टि हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र स्थानीय उद्धारकर्मीहरूले गरेका छन्।

यससँगै, ७ अक्टोबर २०२३ यता इजरायल र हमासबीचको युद्धमा मृत्यु हुने गाजावासीको संख्या ५२ हजार ८२९ पुगेको छ, हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गाजामा अहिलेको अवस्था नर्क समान भएको बिबिसीले रिपोर्ट गरेको छ। एक गाजाकी महिलाले भनिन्, “बच्चाहरू भोकले कराउँछन्, र आमाहरू आँखाभरि आँसु पारेर खान नपाएर रुन बाध्य छन्।”

इजरायली नाकाबन्दीका कारण १० हप्तादेखि राहत सामग्रीहरू गाजामा प्रवेश गर्न नपाएका कारण भोक, औषधिको अभाव, र पीने पानीको संकट चरम सीमामा पुगेको छ। यसैबीच इजरायलले गाजामा विदेशी पत्रकारहरूको प्रवेशमा पनि रोक लगाएको छ।

यता, इजरायली सरकारले भने गाजामा खाद्यान्नको कुनै अभाव नरहेको दाबी गर्दै आएको छ। तर, यथार्थमै त्यहाँ मानवीय संकट चुलिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले चेतावनी दिँदै आएका छन्।