काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अर्थ मन्त्रालयले स्वीकृत भइसकेको ऋण नदिँदा रुकुमका स्थानीय तहहरू गम्भीर अप्ठ्यारोमा परेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै शर्माले रुकुमका स्थानीय सरकारहरूको पूर्ण स्वामित्वमा रहेको स्यार्पु हाइड्रो कम्पनीका लागि स्वीकृत भएको ऋण अर्थ मन्त्रालयले नदिएको आरोप लगाए। उनले भने, ‘‘स्यार्पु हाइड्रो कम्पनीका लागि स्वीकृत ऋण फुकुवा हुन सकेको छैन, जसका कारण स्थानीय तहहरू आर्थिक संकटमा परेका छन्। यो ऋण तुरुन्त फुकुवा गरियोस्।’’
सांसद शर्माले यससँगै रुकुम क्षेत्रमा रहेको पूर्वाधार विकास योजनाहरू पनि अलपत्र परेको उल्लेख गरे। उनका अनुसार मध्यपहाडी लोकमार्गको बागलुङ, पूर्वी रुकुम र पश्चिम रुकुम खण्डहरू ठूला ठेकेदारहरूको लापरवाहीका कारण वर्षौंदेखि अलपत्र अवस्थामा छन्। उनले भेरी पुलको निर्माण समेत अझै सम्पन्न नभएको जनाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
शर्माले यी योजनाहरू समयमा सम्पन्न नहुँदा जनताको दैनिकी प्रभावित भएको र स्थानीय सरकारहरूको विश्वसनीयता कमजोर बनिरहेको दाबी गरे। उनले स्थानीय स्तरमा सशक्त योजना कार्यान्वयनका लागि संघीय सरकारको सक्रियता र जवाफदेहिता आवश्यक रहेको उल्लेख गरे।
Leave a Reply