काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता स्मरण गर्दै मुस्लिम समुदायको संस्कृति, कला र परम्परा आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्।
शुक्रबार बिहान शीतल निवासमा मक्का मदिनातर्फ हज गर्न जान लागेका नेपाली हजयात्रीलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले विविध जातजाति, समुदाय र संस्कृति भएको देशमा सबै मिलेर राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए। उनले हजयात्राले आपसी भाइचारा, मित्रता र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
राष्ट्रपतिले भने, “विविधता भएको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ लाग्नुपर्छ। यसै माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन सकिन्छ। हजयात्राले यसमा ठूलो योगदान दिन्छ भन्ने विश्वासका साथ तपाईंहरूको यात्रा सफल होस् भन्ने शुभकामना दिन चाहन्छु।”
उनले नेपाल राज्य निर्माणमा मुस्लिम समुदायको ऐतिहासिक योगदान पनि स्मरण गरे। साथै, हजयात्रामा सहभागी व्यक्तिहरूको सहजताका लागि सम्पूर्ण सुविधा उपलब्ध गराउन सम्बन्धित निकायहरूले ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।
पौडेलले हज कार्य व्यवस्थित ढंगले सञ्चालन गर्न समयअनुकूल नीति, नियम र प्रवन्ध मिलाउनुपर्नेमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा राष्ट्रपतिले हजयात्रीहरूलाई गम्छा र टोपी लगाएर बिदाइ गरेका थिए। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी शुभकामनासहित हज यात्राको बिदाइ हुनु गौरवको विषय भएको प्रतिक्रिया दिए।a
Leave a Reply