बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

काठमाडौँ — नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एक ३ वर्षीय बालकको मृत्यु भएको छ। कात्यायनी चोकमा बस्दै आएका शिवांश झा नामका ती बालकलाई शुक्रबार बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु जिपले ठक्कर दिएको थियो।

बालकलाई ठक्कर दिइएपछि तत्कालै उपचारका लागि केएमसी अस्पताल पुर्याइएको थियो। तर, गम्भीर घाइते भएका शिवांशको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

ठक्कर दिने गाडी कात्यायनीबाट भीमसेनगोला तर्फ गइरहेको बताइएको छ। गाडीका चालक काठमाडौँ–३१ का रमेश कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।