इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतको इजलासमा उपस्थित गराउनु अघि शुक्रबार अदालत परिसरमै हतकडी खोलिएको छ।

यसअघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा मिश्रलाई हतकडीसहित लैजाने गरिएको थियो। तर आज सर्वोच्च परिसरमै हतकडी खोलिएपछि उनलाई इजलासमा पेश गरिएको हो।

मिश्रका विरुद्ध राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवको अभियोगमा अनुसन्धान भइरहेको छ। प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतमा पेस गरिएपछि मिश्रसँग बयान लिइँदैछ।

बिहीबार साँझ पनि मिश्रलाई सर्वोच्चमा उपस्थित गराइएको थियो। मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको रिटमा बुधवार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले २४ घण्टाभित्र मिश्रलाई मिसिलसहित उपस्थित गराउन आदेश दिएको थियो।

आज मिश्रको रिटमाथिको सुनुवाइ न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा भइरहेको छ। उल्लेखनीय छ, गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहद्वारा गरिएको कथित हिंसात्मक गतिविधिपछि मिश्र, दुर्गा प्रसाईँलगायतलाई प्रहरीले पक्राउ गरेको थियो।