काठमाडौँ, म्युस खबर।
काठमाडौँको ऐतिहासिक नक्साल हिटीमा २५ वर्षपछि फेरि पानी बग्न थालेको छ। काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको नेतृत्वमा भएको निरन्तर प्रयासपछि यो परम्परागत धरोहरले फेरि जीवन पाएको हो।
मेयर शाहले एक भिडियो सन्देशमार्फत हिटीमा पानी प्रवाह सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार, २०७९ सालको भदौमा महानगरका ३२ वटै वडामा भएको अनुगमनका क्रममा नक्साल हिटीमा २०५५ सालदेखि पानी नबगेको पाइएको थियो।
पुरातत्त्व विभागको २०४२ सालको अभिलेखअनुसार पनि बेलाबेला हिटीमा पानीको निकासमा समस्या देखिँदै आएको जनाइएको थियो। समस्याको पहिचानपछि महानगरले सम्पदा तथा पर्यटन विभागसँग समन्वय गरी समाधान प्रक्रिया अघि बढाएको थियो।
अनुगमनका क्रममा हिटीसँग जोडिएको पुरानो मंगाल माटोले पुरिएको अवस्थामा फेला परेको थियो। करीब ४ फिट खन्दा मंगाल भेटिए पनि त्यहाँ पानीको बहाव देखिएन। थप अनुसन्धान गर्दा मंगालसँग जोडिएका तीन वटा घरहरूले निकास रोकिरहेको पाइयो। ती घरधनीलाई जनही दुई–दुई लाख जरिवाना गराई, नयाँ मंगाल निर्माणको काम अगाडि बढाइएको शाहले बताएका छन्।
नयाँ मंगाल निर्माणपछि हिटीको निकास प्रणाली नारायणहिटी संग्रहालय हुँदै टुकुचा खोलासम्म जोडिएको संरचनामा पुनः सञ्चालनमा ल्याइएको हो। रुखका जराहरूले अवरुद्ध भएको मार्गलाई हटाएर करीब ८ महिनासम्म गरिएको मेहनतपछि अहिले दुईवटा स्रोतबाट हिटीमा नियमित रूपमा पानी आउन थालेको शाहको भनाइ छ।
“यो हाम्रो सांस्कृतिक सम्पदाको पुनः जागरण हो”, बालेनले भने, “हामीले परम्परागत पानी प्रवाह प्रणाली जोगाउन सक्यौं। सम्पदा विभागमार्फत पुनर्निर्माण सम्पन्न भइसकेको छ।”
Leave a Reply