काठमाडौं | म्युज खबर — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सांसदहरू बजेटकै लागि अर्थमन्त्रीसँग कानेखुसी गर्नुपर्ने अवस्था आएको भन्दै गम्भीर टिप्पणी गरेका छन्।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वाग्लेले राजनीतिक दलहरू राष्ट्र निर्माणको मूल उद्देश्यबाट च्युत हुँदै गएको आरोप लगाए। उनले भने, “मुलुकको विकास र दीर्घकालीन योजनामा केन्द्रित हुनुको सट्टा निर्वाचनमुखि राजनीतिमा रमाइरहेकाले समस्या सिर्जना भएको हो।”
वाग्लेले बजेट निर्माणको समयमा सांसदहरू आ–आफ्नो क्षेत्रमा आयोजना समेटाउनकै लागि तानातान गर्नुपर्ने बाध्यता भएको बताए। “अर्थमन्त्रीज्यू यहाँ बस्नुभयो चार दिन, मैले देखिरहेको छु — सबै सांसदहरूले एकछिन भए पनि भन्नुपर्नेछ, ‘मेरो चाहिँ नछुटोस् है हजुर’ भनेर,” उनले संसदमै कटाक्ष गरे।
उनका अनुसार राज्य प्रणाली आफैंमा टुक्रे आयोजना, भोट बैंकको राजनीति र सानो दायराको स्वार्थमा घुमिरहेको छ।
यस समस्याको समाधानका लागि वाग्लेले प्रत्यक्ष कार्यकारी प्रणालीतर्फ उन्मुख हुनु उपयुक्त हुने धारणा राखे। “त्यसकारण प्रत्यक्ष कार्यकारीतिर गयौं भने चाहिँ यो समस्या भत्किन्छ जस्तो मलाई लाग्छ,” उनले निष्कर्ष सुनाए।
Leave a Reply