गोविन्दाकी श्रीमती सुनीता भन्छिन्– हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ

बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहूजाले हालैको अन्तर्वार्तामा आफ्नो वैवाहिक जीवनबारे खुलस्त रूपमा धारणा राखेकी छन्। केही समयअघि गोविन्दासँग सम्बन्ध विच्छेदको हल्ला चलिरहे पनि उनले यसलाई पटक–पटक अस्वीकार गरेकी थिइन्।

डेकेन उथ आसिफलाई दिएको अन्तर्वार्तामा उनले गोविन्दासँग अहिलेको सम्बन्ध तनावपूर्ण रहेको संकेत गरेकी छन्। सुनीता भन्छिन्, “३८ वर्ष भइसक्यो, हामी जवान हुँदा यस्ता कुरा धेरै आउँथे। मलाई खासै फरक पर्दैनथ्यो, म बलियो सोच भएको मान्छे हुँ। म पहिले उनलाई विश्वास गर्थें, अब विश्वास गर्छु भन्न सक्दिन।”

उनले हिरोको श्रीमती बन्ने कुरा सजिलो नभएको पनि उल्लेख गरिन्। “हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ। उनीहरू आफ्नो धेरैजसो समय अभिनेत्रीहरूसँग बिताउँछन्, श्रीमतीसँग होइन,” सुनीताले भनिन्।

तर उनले अझै पनि गोविन्दाप्रतिको माया कम नभएको जनाइन्। “म गोविन्दालाई धेरै माया गर्छु र सधैँ गर्नेछु,” उनले अन्तमा भनिन्।