इसराइली सेनाको पछिल्लो आक्रमणमा गजामा एकैदिन कम्तिमा ११४ जनाको ज्यान गएको छ। बिहीबार रातिदेखि गरिएका तीव्र बमबारीमा धेरै महिला र बालबालिकासमेत परेका छन्। कतारी मिडिया अल जजिराका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको दाबी गरिएको छ।
अल जजिराले रातभरिमा मात्र ६१ जनाको मृत्यु भएको जनाएको छ। मंगलबार इसराइलले गजाको युरोपियन अस्पतालमा ६ वटा बम खसालेपछि २८ जनाको मृत्यु भएको थियो। त्यसयता अस्पताल बन्द भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जबालियास्थित अल अला अस्पताल र खान युनिसको इन्डोनेसियन अस्पताल पनि आक्रमणका कारण बन्द रहेका छन्। खान युनिसमा इसराइलले एकैचोटि ९ घरमा आक्रमण गर्दा ती घरमा रहेका सबैको मृत्यु भएको बताइएको छ।
आक्रमण राति भएको कारण घरमा सुतिरहेका मानिसहरू त्रसित भएर बाहिर निस्किन बाध्य भएका थिए। इसराइली सेनाले हमासका लडाकूहरूको कमान्ड र कन्ट्रोल सेन्टर रहेको भन्दै बमबारी गरेको बताइएको छ।
मोहम्मद सिन्वर, जो अक्टोबर ७ मा मारिएका हमास नेता याह्या सिन्वरका भाइ हुन्, उनी अस्पतालको जमिनमुनि कमान्ड चलाइरहेको दाबी गरिएको छ। सिएनएनले स्रोतको हवाला दिँदै इसराइलले उनीमाथि लक्षित आक्रमण गरेको उल्लेख गरेको छ।
हालै हमासले एकजना बन्धकलाई मुक्त गरेपनि इसराइलले हमासविरुद्धको आक्रमण जारी राख्ने बताएको छ। अक्टोबर ७ मा हमासले इसराइलमा हमला गरेर १२०० जनाको हत्या गरेपछि इसराइलले गजामा व्यापक कारबाही थालेको हो।
दुईपटक युद्धविराम भएपनि दीगो शान्ति कायम हुन सकेको छैन। माघ ५ गते अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम र गजाको पुनर्निर्माणका लागि सहमति जुटेको थियो, तर दोस्रो चरणको युद्धविराम भंग भएयता इसराइलले आक्रमण पुनः सुरु गरेको हो।
हाल हमासले पुनः युद्धविरामका लागि मध्यस्थकर्तासँग पहल गरिरहेको छ। बिबिसीका अनुसार हमासले नेपालका नागरिक विपिन जोशीसहित ५८ जनालाई अझै बन्धक बनाई राखेको छ।
Leave a Reply