वैशाख २० गते हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमाक्षेत्र गैरीगाउँमा माछा बोक्ने गाडी जमिन भासिएर हराएको थियो। प्रारम्भिक खोजीमा गाडीको कुनै पत्तो नलागेपछि उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागको टोलीमार्फत अध्ययन गराएको थियो।
भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल र प्राविधिक अमरबहादुर थापा सम्मिलित टोलीले दुई दिन लगाएर अध्ययन गर्दा जमिन भासिनुमा बोरिङ प्रक्रियाको असर देखिएको छ। उनीहरूले उक्त क्षेत्रको जमिनमुनि रहेको मसिनो माटो (सिल्ट) पानीसँग बगेर बाहिर निस्कने क्रम अर्थात् पाइपिङकै कारण भासिएको निष्कर्ष निकालेका छन्।
टोलीले अध्ययन प्रतिवेदन हेटौंडा उपमहानगरलाई बुझाइसकेको छ। गाडीको खोजीका क्रममा प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरिएको थियो। उक्त उपकरणले जमिनमुनि धातुजन्य वस्तु रहेको संकेत दिएको भूगर्भविद् कृष्ण पाण्डेले बताएका छन्। त्यो संकेत गाडी नै भएकोमा उनीहरू विश्वस्त छन्।
उपकरणले देखाएको अनुसार गाडी करिब ८ मिटर गहिराइमा रहेको अनुमान गरिएको छ। यथाशीघ्र सुरक्षासहित गाडीको उद्धार प्रक्रिया थालिनुपर्नेमा भूगर्भविद्ले जोड दिएका छन्। यस्ता घटनाबाट भविष्यमा जोगिन सावधानीपूर्वक बोरिङ तथा निर्माण कार्य गर्न स्थानीय निकाय र सरोकारवालाहरूलाई सर्तक रहन सल्लाह दिइएको छ।
Leave a Reply