काठमाडौँ – हाल देशभर मौसम परिवर्तनको प्रमुख कारण चारवटा वायु प्रणाली बनेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय छ ।
यी वायुले मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेश लगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था ल्याएका छन् भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा अन्य पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यी क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने एक-दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
रातिको मौसम पनि दिउँसोको जस्तै रहने अनुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भूभागहरूमा सम्भावित वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Leave a Reply